जावलाखेल युथ क्लबले थ्री स्टार क्लबलाई पराजित गर्दै सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा विजयी हासिल गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा जाउलाखेलले थ्रीस्टार क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै विजयी हासिल गरेको हो। जावलाखेलको जितमा विदेशीखेलाडी एन्कोटो मासोबी नायक बने। उनले खेलको १६औँ मिनेटमा गरेको १ गोल नै जाउलाखेलको लागि निर्णायक गोल सावित भयो।
यस जितसँगै जावलाखेलले पाँच खेलमा दश अंक जोडेको छ। थ्रीस्टारले पाँच खेलमा सात अंक जोडेको छ। यसैगरी सातदोबाटोस्थित च्यासल मैदानमा आज भएको अर्को खेलमा चर्च ब्वाइज युनाईटेड क्लब र मछिन्द्र फुटबल क्लबले गोलरहित बराबरी खेल्दै एक एक अंक बाडेका छन्।
खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो। यस बराबरी खेलसँगै चर्च ब्वाइजले ५ खेलमा ११ अंक जोडेको छ भने मछिन्द्रले ५ खेलमा ५ अंक जोडेको छ।