प्रधानाध्यापकले छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप, विद्यार्थी टायर बाल्दै सडकमा

HTV Khabar १५ पौष २०८१, सोमबार ०७:५३ मा प्रकाशित

काठमाडौं,  महोत्तरीको जलेश्वर नगरपालिका –२ स्थित श्री लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जीवकुमार झामाथि यौन दुर्व्यवहारको आरोप लागेको छ।

उनीमाथि कक्षा ७ मा अध्ययनरत एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको हो। त्यसको विरोधमा आईतवार बिहानैदेखि विद्यार्थीहरूले प्रधानाध्यापक विरुद्ध नारा लगाउँदै जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरे।

उनीहरुले टायर बालेर सडक जाम गरेपछि स्थानीय क्षेत्र तनावग्रस्त बनेको थियो। प्रदर्शनकारी विद्यार्थीहरूले प्रशासन कार्यालयमा दबाब दिँदै दोषीलाई कडा कारबाहीको माग गरेका छन्।

यता विद्यार्थी आन्दोलनमा उत्रिएपछि प्रधानाध्यापक झालाई प्रहरीले नियन्त्रणमा लिएको छ। साथै प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान थालेको छ।