गणपति टायल्स एन्ड सेनेटरी हाउसलाई २ लाख जरिवाना

HTV Khabar १२ जेठ २०८२, सोमबार ०९:१९ मा प्रकाशित

काठमाडौं,  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार गणपति टायल्स एन्ड सेनेटरी हाउसलाई २ लाख १ हजार रुपैयाँ जरिवाना तिराएको छ। विभागको अनुगमन टोलीले आईतवार १३ उद्योग तथा फर्म अनुगमन गरेको थियो।

अनुगमन क्रममा विभागले काठमाडौं महानगरपालिका–३२ मा रहेको गणपति टायल्स एन्ड सेनेटरी हाउसलाई २ लाख १ हजार रुपैयाँ जरिवाना तिराएको हो। उक्त उद्योगले आफ्ना उत्पादनमा रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) को कसुर र सोही ऐनको दफा ३९ को १ (ख) बमोजिम कारबाही गरिएको जनाएको छ।

यस्तै विभागले काठमाडौं महानगरपाकिा२४ इन्द्रचोकमा रहेको हिमालयन पोतेलाई १० हजार रुपैयाँ तिराएको छ। उक्त पोते पसलले खरिद बिलबिजक नराखेको पाइएपछि जरिबाना तिराइएको विभागको भनाइ छ।

यस्तै विभागको अनुगमन टोलीले ३ उद्योग तथा फर्मलाई व्यवसायसँग सम्बन्धित कागजात सहित विभागमा उपस्थित हुन र ८ वटा उद्योगलाई सामान्य निर्देशन दिएको छ।