एपिएफलाई हराउँदै वालिङ युनाइटेड नीलो फाइनलमा

HTV Khabar ५ माघ २०७९, बिहीबार ०२:४५ मा प्रकाशित

स्याङ्जाको वालिङ खेलमैदानमा बुधवार सम्पन्न सेमिफाइनलमा एपिएफ क्लबलाई हराउँदै आयोजक स्याङ्जाको वालिङ युनाइटेड नीलो फाइनलमा प्रवेश गरेको छ। एपिएफलाई १–० गोलले पराजित गर्दै वालिङ निलोले उपाधि भिडन्त पक्का गरेको हो।

उक्त खेलमा वालिङ निलोका लागि अजय मार्टिन्सले निर्णायक गोल गरेका थिए। विजयी वालिङ निलोले शनिबार वालिङ युनाइटेड रातो र एभिनियरबीच हुने खेलको विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ। बुधबारको खेलमा वालिङ युनाइटेडका विश्वास श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए। दोस्रो सेमिफाइनल खेल आज वालिङ युनाइटेड रातो र एभिनियर फुटबल क्लब क्यामरुनबीच हुनेछ।

वालिङ युनाइटेड फुटबल क्लबले आयोजना गरेको प्रथम वालिङ गोल्डकप स्याङ्जाकै सर्वाधिक राशिको प्रतियोगिता हो। शनिबार फाइनल खेल हुनेछ। हालसम्म लिस्नु फुटबल क्लब रुपन्देही, केबिएल ग्लोबल भरतपुर फुटबल क्लब चितवन, साहारा क्लब पोखरा, त्रिभुवन आर्मी क्लब काठमाडौं र एपिएफ फुटबल क्लब काठमाडौं  प्रतियोगिताबाट बाहिरिएका छन्।

प्रतियोगितामा उपाधि जित्ने टोलीले रु पाँच लाख तथा उपविजेताले रु दुई लाख ५० हजारसहित ट्रफी प्राप्त गर्नेछन्।