साढे ९ लाखसहित विमानस्थल आन्तरिक टर्मिनलका प्रमुख पक्राउ

HTV Khabar १० माघ २०७९, मङ्गलबार ०२:५९ मा प्रकाशित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलका प्रमुख पूर्णप्रसाद चुडाल साढे ९ लाख रुपैयाँसहित पक्राउ परेकाछन्। उक्त रकमसहित उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो।

बरामद रकममध्ये डेढ लाख रुपैयाँ घुस हो भने बाँकी ८ लाख रुपैयाँलाई अख्तियारले ‘स्रोत नखुलेको नगद’ भनेको छ।

चुडाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय, आन्तरिक टर्मिनल व्यवस्थापन शाखाका प्रमुख प्रबन्धक हुन्।

उनले टर्मिनलसम्म आवतजावत गर्न पास उपलब्ध गराइदिने भन्दै सेवाग्राहीसँग घुस लिएका थिए। त्यही सूचनाको आधारमा अख्तियारले उनलाई पक्राउ गर्दा घुस र बाँकी अरु रकम बरामद भएको हो। बाँकी रकम उनको कार्यकक्षमा रहेको स्टिलको दराजबाट बरामद भएको अख्तियारले जनाएको छ।

अख्तियारका अनुसार, उनको साथबाट विभिन्न ब्राण्डका ९ बोतल मदिरा बरामद भएको छ। उनले आफ्नो साथमा रहेको बाहेक अरु ४ वटा मोवाईल पनि कार्यालयमा लुकाएर राखेको अवस्थामा भेटिएको छ।

उनले पास उपलब्ध गराइदिन प्रतिमहिना १० हजार रुपैंयाका दरले घुस मागेको अख्तियारको दावी छ। उनले १५ महिनाको पासका लागि डेढ लाख रुपैया घुस मागेका थिए।