मेक इन नेपाल ‘स्वदेशी’ अभियान : सरकार सहुलियत दिन तयार

HTV Khabar ९ मंगशिर २०७९, शुक्रबार ०४:०३ मा प्रकाशित

काठमाडौं, उद्योग सचिव तोयनारायण ज्ञवालीले मेक इन नेपाल ‘स्वदेशी’ अभियानमा आबद्ध सदस्यलाई सहुलियत दिन सरकार सकारात्मक रहेको बताएका छन्।

औद्योगिक पूर्वाधार, लगानी पूर्वाधार, योजनामा मन्त्रालयले काम गरिरहेको भन्दै उनले उद्योग मन्त्रालय उद्योगीहरूलाई सहजीकरण गर्न तयार रहेको र उद्योगीहरूको समस्या समाधानमा प्रतिबद्ध रहेको बताए। आठौं उद्योग दिवसका अवसर पारेर नेपाल उद्योग परिसंघले गरेको अन्तक्रियामा उद्योग सचिव ज्ञवालीले आगामी कम्तीमा १० वर्षका लागि औद्योगिक नीति के हुनुपर्ने हो भन्ने विषयमा अहिले काम गरिरहेको जानकारी दिए।

उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले नेपाल उद्योग परिसंघले औद्योगिक विकासका लागि प्रभावकारी रूपमा आफ्ना गतिविधिलाई अगाडि बढाउँदै आएको बताए। उनले उद्योग क्षेत्रको विकासका लागि गहन अध्ययन गरेर परिसंघ अगाडि बढ्दै आएको भन्दै सरकारले निजी क्षेत्रबाट यस्तै प्रयासको अपेक्षा गरेको बताए। निजी क्षेत्र र सरकार मिलेर नै औद्योगिक विकास गर्न सकिने उनको भनाइ थियो।

कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले परिसंघले सरकारसँगको सहकार्यमा अगाडि बढाइरहेको मेक इन नेपाल ‘स्वदेशी’ अभियानमा आबद्ध सदस्यलाई सहुलियत दिन आग्रह गरेका थिए। भारत, अष्ट्रेलियालगायत मुलुकमा सरकारको अग्रसरमा मेक इन अभियान संचालन भइरहेकोमा नेपालमा परिसंघको अग्रसरतामा मेक इन नेपाल अभियान संचालन भइरहेको छ। मेक इन नेपाल अभियानमा आबद्ध उत्पादनलाई सहुलियत दिइए स्वदेशी उत्पादन बढाउन र निर्यात गर्न प्रोत्साहन मिल्ने अध्यक्ष अग्रवालले बताए।                                उद्योग मन्त्रालय उद्योगीहरुको फोकल मन्त्रालय बन्नुपर्नेमा जोड दिँदै उनले त्यसले उद्योगहरुको महत्व बढाउने र उद्योगीहरूको समस्या समाधानमा अन्य मन्त्रालय एवं सरोकारवाला पक्षसँग समन्वय गर्न सहयोग गर्ने बताए। उनले नीतिगत स्थिरतामा जोड दिँदै निश्चित अवधिसम्म नीति परिवर्तन नुहने गरी उद्योगी, लगानीकर्तालाई आश्वस्त पार्नुपर्ने बताए।

कार्यपत्र प्रस्तुत गर्दै परिसंघको उद्योग समिति सभापति गोकुल भण्डारीले आयात प्रतिस्थापन सम्भव भएका वस्तुहरूको आयात निरुत्साहित गर्नुपर्ने बताए। उद्योग तथा लगानी प्रवद्र्धनसँग प्रत्यक्ष सरोकार राख्ने कानुनी व्यवस्थालाई एकीकृत गर्दै उद्योगलाई पर्ने समस्या समाधान तथा उनीहरूले पाउने सुविधा तथा सहुलियत एकै स्थानबाट उपलब्ध गराउन एकीकृत औद्योगिक विकास ऐन तर्जुमा गरी कार्यान्वयन गर्न आग्रह गरे।

कार्यक्रममा उद्योगी व्यवसायीहरुले राखेका सुझाव एवं जिज्ञासालाई उद्योग सचिव ज्ञवाली र विभागका महानिर्देशक तिवारीले सम्बोधन गरे। कार्यक्रममा परिसंघका उपाध्यक्षहरु राजेश अग्रवाल, वीरेन्द्रराज पाण्डे, रोहित गुप्ता, परिसंघका महानिर्देशक दिपकराज जोशीलगायत परिसंघ सदस्य उद्योगी व्यवसायी सहभागी थिए। यस वर्षको उद्योग दिवसको नारा ‘औद्योगिक लगानी र पूर्वाधार : समृद्धिको बलियो आधार’ रहेको छ।