काठमाडौं महानगरको आर्थिक सहयोगमा सामुदायिक विद्यालयका शिक्षकलाई स्काउटको एड्भान्स तालिम

सबिन पन्त 'पृथक' ३ असार २०८१, आइतबार १२:१६ मा प्रकाशित

काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग र नेपाल स्काउट बागमती प्रदेश स्थानीय स्काउट कार्यालयको आयोजनामा सामुदायिक विद्यालयका शिक्षकहरुको लागि स्काउटको एड्भान्स तालिम भइरहेको छ।

स्काउट अन्तर्राष्ट्रिय तालिम केन्द्र नुवाकोटको ककनीमा गत जेष्ठ ३० गतेदेखि शुरु भएर असार ४ गतेसम्म ६ रात ७ दिनको ५९ औं ब्वाइज उडव्याज तालिम कोर्ष लिडर राष्ट्रिय प्रशिक्षक एवं राष्ट्रिय कार्यसमिति सदस्य आयुक्त शिव राम अर्यालले र ४९ औं गर्ल एडभान्स तालिम कोर्ष लिडर राष्ट्रिय प्रशिक्षक अनिता मानन्धरको नेतृत्वमा सञ्चालन भएको हो।

काठमाडौं महानगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयका शिक्षकहरुको लागि आयोजित तालिम आयुक्त मुना तामाङ लामाको संयोजनमा भइरहेको तालिम कार्यक्रमलाई राष्ट्रिय प्रशिक्षक लीला श्रेष्ठले विशिष्ट सहयोग गरिरहेकी छन् भने प्रशिक्षकको रूपमा कृष्ण चालिसे र सुरज खनालले जिम्मेवारी पूरा गरिरहेका छन्।

एडभान्स कोर्षको काउन्सिलरमा सहायक राष्ट्रिय प्रशिक्षक निर्मला शर्मा, प्रभा महर्जन, गंगा चौलागाईं, एड्भान्स नबिना श्रेष्ठ र उड ब्याज कोर्षको काउन्सिलरमा CALT का राम श्रेष्ठ, सहदेव थापा, विश्वनाथ बानियाँ, जय प्रताप आले, रविप्रसाद परियार, ALT प्रमोद सिग्देल र  कृष्णप्रसाद शिवाकोटी रहेका छन्।

सांस्कृतिक सहर समृद्धि महानगर भन्ने मूल नाराका साथ काठमाडौं महानगरपालिकाले स्काउटको एडभान्स तथा उड व्याजको तालिम आयोजना गर्न लगाएको हो।  काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख गोविन्दप्रसाद शर्मा र सहरी विकास योजना आयोगका सदस्य शैलेन्द्र झा लगायतको शिक्षा अधिकृतहरूको टोलिले तालिमको निरीक्षण गरेको थियो। 

तालिमको निरीक्षण तथा अनुगमनका क्रममा रहेका शिक्षा विभाग प्रमुख गोविन्द शर्मा पौडेल तथा योजना आयोगका सदस्य शैलेन्द्र झालाई तालिमका सहभागी प्रशिक्षार्थीले  गुनासो राख्दै सुझाव दिएका थिए। 

तालिममा सहभागी प्रशिक्षार्थी सबिन पन्त 'पृथक' ले सामुदायिक विद्यालयमा स्काउट सञ्चालन गर्न विद्यार्थीको निम्ति पोशाकको लागि महानगरले प्रदान गर्दैआएको रकम अपुग रहेको जसको कारण सबै विद्यार्थीलाई स्काउटमा समेट्न नसकी उनीहरुको समानताको हक कुन्ठित भएको गुनासो गरे।

त्यस्तै काठमाडौं महानगर शिक्षा विभागले गौरवको योजना अन्तर्गत विद्यार्थीको समग्र वृत्ती विकासको लागि १५ वटा उपसमूह बनाई कार्य गर्दैआएकोमा बरु १६ वटा उपसमूह बनाएर  स्काउटलाई पनि समेट्न अनुरोध गर्दै पन्तले सुझाव दिएका थिए। 

तालिमका प्रशिक्षार्थीलाई सम्बोधन गर्दै शहरी  योजना आयोगका सदस्य सदस्य शैलेन्द्र झाले भने 'हामी को हौँ हामी के गर्छौं हामी कहाँ पुग्छौं, नेपाललाई रूपान्तरण गर्न सबैभन्दा पहिला शिक्षामा रूपान्तरण हुन जरुरी छ समाज चिन्न, अक्षर शब्द चिन्न हामीलाई स्काउट चाहिन्छ।'

काठमाडौं महानगरको गौरवको योजना अन्तर्गत सामुदायिक विद्यालयहरुमा१५ वटा  उपसमूह बनाई विद्यार्थीहरुको वृत्ती विकासमा कार्य गर्दै आएकोमा २० वटा उपसमूह बनाउने र त्यसमध्ये स्काउटपनि एउटा उपसमूहमा राख्ने झाले बताए।

पहिला स्काउटको बारेमा आफूले नबुझेको ढिला भएपनि स्काउट बुझ्ने मौका मिलेको र सहज रूपमा सामुदायिक विद्यालयसँग जोडिएर हाम्रो देश नेपाललाई रूपान्तरण गर्ने सबैभन्दा सजिलो माध्यम स्काउट पनि एक रहेको  उनले बताए। 

काठमाडौं महानगरपालिकाका शिक्षा विभाग प्रमुख पौडेलले प्रशिक्षार्थीहरुले उठाएका जिज्ञासालाई सम्बोधन गर्दै काठमाडौं महानगरले "गरिखाने शिक्षा महानगरको इच्छा" भन्ने नारा अन्तर्गत सामुदायिक विद्यालयका विद्यार्थीको लागि "शिक्षासंगै सिप" भन्ने कार्यक्रम र विद्यार्थीको वृत्ती विकासको लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेकोमा स्काउटपनि समेट्ने बताउँदै। स्काउटलाई महत्त्वपूर्ण ध्यान दिई मजबुत बनाउने प्रतिबद्धता जनाए। 

स्काउटको बारेमा आफूलाई पूर्ण ज्ञान् नभएकोले यसका प्रशिक्षक र सरोकारवाला संग छलफल गरेर विद्यार्थीको स्काउट पोशाकको रकम पनि थप गर्ने र आवश्यक सबै कार्य गर्ने बताए। उनले स्काउटको विषय चिन्ता नलिन मात्रै आफ्नो कर्तव्य निर्वाह गर्न प्रशिक्षार्थी शिक्षकहरुलाई अनुरोध गरेका छन्।