रिलायन्स साहित्य स्रष्टा सम्मानमा प्रा.डा. पौडेल र कवि प्रभास सम्मानित

सबिन पन्त 'पृथक' ३१ मंगशिर २०८०, आइतबार १२:३५ मा प्रकाशित
काठमाडौं, प्रत्येक वर्ष झैं यस वर्ष पनि रिलायन्स साहित्य समाजले रिलायन्स साहित्य स्रष्टा सम्मान कार्यक्रम आयोजना गरेको छ। 


बूढानीलकण्ठ-१० कपनस्थित रिलायन्स इन्टरनेसनल एकेडेमीको सभाहलमा वरिष्ठ साहित्यकार तिलविक्रम नेम्बाङ (वैरागी काइँला)को प्रमुख  आतिथ्यता र रिलायन्स शैक्षिक प्रतिष्ठानका अध्यक्ष रवीन्द्रजंग थापाको सभापतित्वमा आयोजित कार्यक्रममा साहित्य स्रष्टा सम्मानमा प्रा.डा. हेमनाथ पौडेल र रिलायन्स युवा प्रतिभा सम्मानबाट कवि हेम प्रभासलाई सम्मान गरिएको छ।

डा.पौडेललाई आफ्ना समालोचना, सिर्जना र भाषा व्याकरणका एक दर्जन कृतिमार्फत नेपाली भाषा साहित्यको श्रीवृद्धिमा अतुलनीय योगदान पुर्‍याए बापत २५ हजार रुपैयाँ नगद राशिको रिलायन्स साहित्य स्रष्टा सम्मान प्रदान गरिएको हो।


युवा कवि हेम प्रभासको फरक शैली, उनका रचनाहरूले बोक्ने काव्य चेतना र उदीयमान युवा कवि भएकाले ११ हजार रुपैयाँ नगद राशिको रिलायन्स युवा प्रतिभा सम्मान उनलाई प्रदान गरिएको छ।

रिलायन्स इन्टरनेसनल एकेडेमीका ईसीए/सीसीए कोअर्डिनेटर श्रीधरप्रसाद पौडेलले उत्कृष्ट रूपमा सञ्चालन गरेको कार्यक्रममा विभिन्न स्रष्टाहरूले कविता वाचन गरेका थिए।