नेपाल एयरलाइन्सका ५ जना पाइलटलाई निलम्बन गर्न उड्डयन प्राधिकरणको निर्देशन

HTV Khabar ९ माघ २०७९, सोमबार १२:०८ मा प्रकाशित

नेपाल वायुसेवा निगमका ५ जना पाइलटलाई एयर ट्राफिक कन्ट्रोलरको निर्देशन पालना नगरेको कसुरमा निलम्बन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमलाई निर्देशन दिएको छ। प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार काठमाडौंबाट हङकङ उडानको जहाजका तीन जना र काठमाडौंबाट जापान उडानको जहाजमा रहेका दुई जना पाइलटलाई निलम्बन गर्न निर्देशन दिइएको उनले जानकारी दिए।

उनका अनुसार हङकङ उडेको जहाजका पाइलट नरबहादुर विश्वकर्मा, राजेश कुशवाह र उद्धव घिमिरेलाई एटीसीको निर्देशन पालना नगरेको कसुरमा निलम्बन गर्न भनिएको हो। जापान उडेको जहाजमा रहेका वाईपी ज्वार्चन र प्रसन्न रानालाई समेत सोही कसुरमा निलम्बनको निर्देशन दिइएको निरौलाले जानकारी दिए। उनका अनुसार काठमाडौंबाट ती गन्तव्यमा उडान गर्ने क्रममा पाइलटहरुले एटीसीको निर्देशन पालना नगरेको देखिएको छ। प्राधिकरणका अनुसार यी दुवै उडान शुक्रबारका थिए। यी दुवै उडानमा एटीसीको निर्देशन के थियो भन्ने चाहिँ प्राधिकरणले खुलाएको छैन।

निरौलाका अनुसार प्राधिकरणको निर्देशन निगमले पालना गर्नु पर्छ। त्यसपछि निलम्बनका परेका पाइलटसँग प्राधिकरणले छुट्टै छलफल गर्छ। त्यसपछि थप निर्णय हुने उनले जानकारी दिए।