काठमडौं, कोशी प्रदेशका पूर्वकानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई अदालतले सात दिन थुनामा राख्न अनुमति दिएको छ।
मङ्गलवार काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको इजलासले अधिकारीसहित नौ जनालाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
फर्जी कागजात बनाएर युवाहरूलाई जापानमा लुकाउने नियत राखेर ‘मानव तस्करी’ गरेको आरोपमा पूर्वमन्त्री अधिकारीसहित दावा शेर्पा, जनक राई, कञ्चन देवकोटा, महेश पाण्डे, वीरबहादुर सुनार, जुगल रिजाल, गुड्डी राई र नविन राई हिरासतमा छन्।
उनीहरुलाई दिएको दुई दिनको म्याद सोमवार सकिएपछि प्रहरीले मङ्गलवार अदालतमा पेस गरेको थियो। यही कात्तिक १३ गते संघीय र प्रदेश सरकारको अनुमतिबेगर अधिकारी जापानको टोकियोमा हुने एक कार्यक्रममा सहभागी हुन भन्दै टोकियो विमानस्थल पुगेका थिए।
टोकियो विमानस्थल कार्यालयले भने त्यहाँ प्रवेश नदिई नेपाल ‘डिपोर्ट’ गरेसँगै मानव तस्करीको धन्दा खुलेको हो। यही प्रकरणमा अधिकारीलाई आईतवार पक्राउ गरिएको हो। आरोपीहरुविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँले लिखत किर्ते र मानव बेचबिखन तथा ओसारपसार कसुरमा अनुसन्धान थालेको छ।