बूढानीलकण्ठ -११ का सामुदायिक विद्यालयमा लागु पदार्थ दुर्व्यसनी सम्बन्धि तीनदिने सचेतना अभियान शुरु

सबिन पन्त 'पृथक' ९ असार २०८१, शनिबार ०४:०० मा प्रकाशित

काठमाडौं, बूढानीलकण्ठ नगरपालिका वडा नं.-११ मा रहेका सामुदायिक विद्यालयमा लागू पदार्थ/औषध दुर्व्यसनी सम्बन्धि तीनदिने सचेतना अभियान आजबाट शुरु भएको छ।

वडासदस्य गङ्गा परियारको संयोजनमा शुरु गरिएको अभियानको आज पहिलो दिन ग्राम शिक्षा मन्दिर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरेर विद्यालयकै सभाकक्षमा वडाध्यक्ष राजु अधिकारीको अध्यक्षतामा आयोजना गरियो।

विद्यालयमा अध्ययन गर्ने किशोरावस्थाका विद्यार्थीहरु बढी लागू पदार्थ दुर्व्यसनीमा फस्न सक्ने भएकोले यही उमेरमा नै यसको बारेमा बुझाएर सचेत गराउन सकियोभने राष्ट्रमा योग्य र दक्ष नागरिक उत्पादन गर्ने अभियानमा सहयोग पुग्ने विश्वास लिइएको वडाध्यक्ष राजु अधिकारीले एचटिभी खबरलाई बताए।

तीनदिने सचेतनामूलक अभियानको पहिलो दिन ग्राम शिक्षा मन्दिर विद्यालयमा आयोजित कार्यक्रममा नार्कोनन नेपालका लागुऔषध विज्ञ नागेन्द्र पौडेल र प्रहरी प्रभाग कपनका प्रहरी सहायक निरीक्षक रमेश जोशीले दुर्व्यसनी सम्बन्धि सचेतना दिएका थिए। 

कार्यक्रममा सहभागी विद्यार्थीहरुले कार्यक्रम अत्यन्तै लाभदायक रहेको र आफूले जीवन सत्मार्गमा लगाएर कसरी कुलतमा फस्नबाट बच्न सकिन्छ भन्ने बुझेको बताए। कार्यक्रममा वडासदस्य समरबहादुर गुरुङ, विद्यालयका प्रधानाध्यापक रुद्र कोइराला, वडाका कर्मचारी लगायत विद्यार्थीहरुको उपस्थिति रहेकोे थियो। 


सचेतनामूलक अभियान अन्तर्गत भोलि दोस्रो दिन असार ९ गते आईतवार पैयाटारस्थित यज्ञमति माध्यमिक विद्यालय र १० गते सोमवार जगडोलस्थित जन जागृति माध्यमिक विद्यालयका विद्यार्थीहरुको निम्ति कार्यक्रम आयोजना गरिने कार्यक्रम संयोजक गङ्गा परियारले बताइन्।