ड्युक मोटरसाइकल चोरीमा संलग्न तीन जना पक्राउ

HTV Khabar २८ असार २०८१, बिहीबार ०७:१८ मा प्रकाशित

काठमाडौं, काठमाडौंको मित्रनगर र नेपालटारबाट मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई बुधवार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

मकवानपुरको बागमती गाउँपालिका ४ झुरझुरे घर भई काठमाडौं नयाँबसपार्क बस्ने २७ वर्षीय आशाराम थिङ, सल्यानको शारदा नगरपालिका ५ घर भई काठमाडौं जरङखु बस्ने १९ वर्षीय राहुल सिंह ठकुरी र काठमाडौं बालाजुका आशिष गहतराजलाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो।

वास्तविक नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०४८ प ५३ ५३ नम्बर राखी चलाइरहेको अवस्थामा थिङलाई मोटरसाइकल सहित आज काठमाडौँको मित्रनगरमा ट्राफिक प्रहरीले फेला पारेको थियो।

वास्तविक नम्बर बागमती प्रदेश ०२-०२७ प ८२ ८२ नम्बरको केटीएम ड्यूक मोटरसाइकल काठमाडौं बौद्धबाट हराएको भनी समन बास्ताकोटीले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए।

त्यस्तै, बागमती प्रदेश ०२-०४५ प ८३ २० नम्बर राखी चलाइरहेको अवस्थामा ठकुरीलाई मोटरसाइकल सहित नेपालटारबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो।

नियन्त्रणमा आएका ठकुरीलाई सोधपुछ गर्दा उक्त मोटरसाइकल आशिष गहतराज मार्फत झापाका सन्तोष लिम्बुसँग किनेको भन्ने खुल्न आएको हुँदा गहतराजलाई समेत ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।

वास्तविक नम्बर बागमती प्रदेश ०२-०४२ प ४९ ७७ नम्बरको केटीएम ड्युक मोटरसाइकल  कलंकीस्थित खसीबजारबाट हराएको भनी निश्चल श्रेष्ठले खोजतलासको लागि निवेदन दिएका थिए।

नियन्त्रणमा आएका थिङलाई अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगन्ज, ठकुरी र गहतराजलाई प्रहरी वृत्त कालीमाटी पठाइएको छ भने सन्तोष लिम्बुको खोजी भइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए।