काठमाडौं, मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि गगन कुमार थापाले क्षेत्रमा रहेका काठमाडौं महानगरका वडा र बूढानीलकण्ठ नगरका वडाहरुमा धन्यवाद कार्यक्रम शुरु गरेकाछन्। थापाले मंसिर ६ गते आफू निर्वाचित भएको दिन काठमाडौं ४(१) श्रीराम लामिछाने र (२) बाट कुसुम कुमार कार्की दुवै विजय भएपश्चात विजय र्याली गर्ने उद्घोष गरेका थिए। मत परिणामअनुसार कुसुम कार्की पराजित भएपछि भने थापाले विजय र्याली नगर्ने घोषणा गरे तर आफूलाई मत दिएर विजयी गराउने सबै मतदाताको कदर गर्दै घरदैलोमा पुगेर धन्यवाद दिने बताएका थिए। उनकै चाहनाअनुसार महानगर र नगर भित्रका वडाहरुमा धन्यवाद कार्यक्रम शुरु गरिएको काठमाडौं ४ का क्षेत्रीय सभापति श्यामकृष्ण संगतले एचटिभी खबरलाई बताए। आज बिहान चाबहिल गणेशस्थान चौरमा धन्यवाद कार्यक्रममा थापाले आफूलाई अमूल्य मत दिएर विजयी गराउने सम्पूर्ण मतदातालाई कृतज्ञता व्यक्त गरेका थिए। सो अवसरमा उनले भने ' नेपाललाई नयाँ रूपमा परिमार्जन गर्दै समुन्नत नेपाल बनाउन नयाँ सरकारको खाँचो छ अनि त्यो सरकार चलाउन पनि नयाँ सक्षम मान्छेको खाँचो छ। अब तपाईंहरुले विश्वास गरेर त्यो देश चलाउने ड्राइभर बन्न योग्य बनाएर मलाई पठाउनु भएको छ। त्यसको लागि मैले त्यस कार्यको शुरूवात गरिसकेको छु।' उक्त कार्यक्रममा प्रदेश १ बाट निर्वाचित श्रीराम लामिछानेको पनि उपस्थिति रहेको थियो। दुवै निर्वाचित नेताहरूलाई मतदाताले खादा र माला लगाएर स्वागत गरेका थिए।