काठमाडौं, बूढानीलकण्ठ नगरपालिका वडा नं.- १३ चुनिखेलमा तेश्रो य:मरी खाजा सड़क महोत्सव आजबाट शुरु भएको छ।
मंसिर २८ गते देखि पुस २ गते सम्म सञ्चालन हुने सडक महोत्सव ऐतिहासिक रूपमा सम्पन्न गर्ने लक्ष्य लिईएको वडा नं १३ का सदस्य तथा कार्यपालिका सदस्य रिना श्रेष्ठ ,वडा सदस्य मंगल नगरकोटी तथा राममाया बिकको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा वडा नं १३ का अध्यक्ष टिका नारायण श्रेष्ठले बताएका हुन्।
वडा अध्यक्ष श्रेष्ठले स्थानीय क्षेत्रका सम्पदा,संस्कृति,कला र साहित्यको विकासलाई प्राथमिकतामा राख्दै महोत्सव आयोजना गरिएको जानकारी दिएका छन्।
उक्त महोत्सवमा स्थानीय उत्पादनका रुपमा रहेको य:मरीको प्रवर्धनका साथमा मौलिक नेवारी खाजा प्रदर्शनी लगायतका कार्यक्रमहरु रहेको अध्यक्ष श्रेष्ठले बताए।
साथै स्थानीय उत्पादनको स्वाद संगै महोत्सवमा धिमे प्रतियोगिता, बाँसुरी प्रतियोगिता तथा भजन प्रतियोगिता मुख्य आकर्षणका रुपमा रहेको र बाघचाल ,गट्टा, तेलकासालगायतका स्थानीय खेलहरुको प्रतियोगीता पनि आयोजना गरिएको पनि उनले जानकारी दिए।
सो सडक महोत्सव अबधिभर चुनिखेलको इतिहास र मौलिकता झल्कने प्राचिन र मौलिक तस्विरहरुको प्रदर्शनी गर्नुका साथै चुनिखेलको पहिचान झल्कने पुराना वस्तुहरुलाई पनि अवलोकनका लागि राखिने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो।