आईसीसी टी-२० विश्वकप क्रिकेटमा पाकिस्तानको पहिलो जित

HTV Khabar १३ कार्तिक २०७९, आइतबार ११:२१ मा प्रकाशित

काठमाडौं, अष्ट्रेलियामा भइरहेको आईसीसी टी-२० विश्वकप क्रिकेटमा पाकिस्तानले पहिलो जित निकालेको छ।

सुपर १२ को समूह बी मा रहेको पाकिस्तानले आइतबार नेदरल्याण्ड्सलाई ६ विकेटले पराजित गरेको हो। ९२ रनको लक्ष्य पाकिस्तानले १३.५ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो।

यसअघि लगातार दुई खेल हारेको पाकिस्तानले पहिलो जितपछि ३ खेलबाट २ अंक जोडेको छ र सेमिफाइनलको झिनो सम्भावना कायम राखेको छ।

यसअघि भारत र जिम्बावेसँग पराजित भएको पाकिस्तानले अब दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्न बाँकी छ। पाकिस्तानले बाँकी दुवै खेल जितेमा ६ अंक हुनेछ।

यस्तो पाकिस्तानका लागि शीर्ष दुईमा रहेर सेमिफाइनल पुग्न बाँकी खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ।