काठमाडौं, ज्यानमार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे पक्राउ परेका छन्। प्रहरीले मनाङेलाई आज काठमाडौंको सानो भर्याङबाट पक्राउ गरेको हो।
मनाङेलाई कम्फर्ट हाउजिङमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख एआईजी दीपक थापाले जानकारी दिए। पक्राउ परेका मनाङेलाई फैसला कार्यान्वयनका लागि अदालत उपस्थित गराइने उनले बताए।
गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो। न्यायाधीश डा.नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) पाटनले गरेको फैसलालाई सदर गरेको हो।
तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई २०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो। सर्वोच्चले पनि दोषी ठहर गरेपछि मनाङेविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। दीपक मनाङेको समूहले ०६१ सालमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार हानेका थिए।