बूढानीलकण्ठ नगरको ल्होसार कार्यक्रम भव्य रूपमा सम्पन्न

सबिन पन्त 'पृथक' ९ माघ २०७९, सोमबार ०५:०६ मा प्रकाशित

बूढानीलकण्ठ नगरपालिकाभित्र रहेका विभिन्न जातजाती, भेषभुषा, कला, संस्कृति, नाच तथा विभिन्न सांस्कृतिक विविधतालाई झल्काउन र प्रवर्द्धन गर्नका निमित्त आयोजना गरिएको सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नगरपालिकाका विभिन्न जातीय आफ्नो मौलिकता झल्काउने नृत्य, झाँकी तथा भोम्बो नाच, तामाङ्ग सेलो, कौडा, शेर्पा नाच, किराँत राई यायोक्ख, नेवार समुयदायहरुको बाँसूरी खलः को प्रस्तुति लगायत सामुहिक तथा एकल प्रस्तुतिहरु गरिएको थियो।

नगर प्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा  बागमती प्रदेश सभा सदस्य मिना पराजुली,  बागमती प्रदेशसभाका पूर्व सदस्य दिपक निरौला, सीता लामा, नगरपालिकाका पूर्व नगर उप-प्रमुख रमा देवी राई, प्रमुख प्रशासकीय अधिकृत भुवनेश्वर लामिछाने साथै सबै वडाका जनप्रतिनिधि लगायत नगरका कर्मचारीहरुको उपस्थिति रहेको थियो। 

नगर उपप्रमुख अनिता लामा संयोजक रहेको कार्यक्रम नगर प्रवक्ता नवराज भट्टराईले सञ्चालन गरेका थिए। अबदेखि बूढानीलकण्ठ नगरपालिकाले सबै जातीय चाडपर्वहरु संयुक्त रूपमा मनाउने पनि प्रवक्ता भट्टराईले बताएका छन्।