विद्युतीय कारोबारमा जोड दिंदै आएको नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ, क्यूआर कोडलगायतका विद्युतीय भुक्तानीबाट हुने कारोबारको सीमालाई बढाएको छ। राष्ट्र बैंकले मङ्गलवार ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७९’ जारी गर्दै उक्त सीमा बढाएको हो।
राष्ट्र बैंकले मोबाइल बैंकिङ (क्यूआर कोड)समेतबाट प्रतिदिन ३ लाख रुपैयाँसम्म कारोबार गर्न सकिने व्यवस्था गरेको छ। यसअघि प्रतिदिन २ लाख रुपैयाँसम्म कारोबार गर्न सकिने व्यवस्था थियो। त्यस्तै, बैंक खाताबाट वालेटमा प्रतिदिन २ लाख रुपैयाँसम्म रकम पठाउन सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ। यसअघि प्रतिदिन ५० हजार रुपैयाँसम्म रकमान्तर गर्न सकिने व्यवस्था रहेको थियो। साथै, वालेटबाट बैंकको खातामा पनि प्रतिदिन २ लाख रुपैयाँसम्म पठाउन सकिने भएको छ। यसअघि प्रतिदिन १ लाख रुपैयाँ मात्रै पठाउन सकिन्थ्यो। प्रतिमहिना १० लाख रुपैयाँसम्म गर्न सकिने कारोबारको सीमा भने यथावत रहेको छ।
राष्ट्र बैंकले एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्ने सीमालाई भने घटाएर प्रतिदिन ५० हजार रुपैयाँसम्म पठाउने सकिने व्यवस्था गरेको छ। यसअघि एकदिनमा १ लाख रुपैयाँसम्म पठाउन सकिने व्यवस्था थियो। तर, प्रतिमहिना गर्न सकिने कारोबारको सीमा भने यथावत रहेको छ। साथै वालेटबाट बैंकका रकम पठाउँदा १० रुपैयाँ लाग्ने भएको छ। एजेन्टमार्फत् वालेटमा ५ हजारदेखि २५ हजारसम्म रकम लोड गर्दा र झिक्दा प्रतिकारोबार ५ देखि २५ रुपैयाँसम्म शुल्क लाग्ने भएको छ।
यसै गरी राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआईएस)मा आबद्ध भएका भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेको वालेटमार्फत् सञ्चालन गरिने राजस्व भुक्तानीसम्बन्धी कारोबारमा लाग्ने शुल्कलाई समेत राष्ट्र बैंकले एकीकृत निर्देशनमार्फत् संशोधन भएको छ।
नयाँ व्यवस्थाअनुसार ५ हजारदेखि १० हजारसम्मको कारोबारमा ८ रुपैयाँ शुल्क लाग्नेछ। यसअघि ३ हजारदेखि १० हजारसम्मको कारोबारमा ८ रुपैयाँ ३ हजार रुपैयाँसम्मको कारोबारमा ५ रुपैयाँ शुल्क लाग्दै आएको थियो। अब सो शुल्कमा ५ हजारसम्मको कारोबार गर्न सकिने छ। त्यस्तै, १० हजारभन्दा माथिको सबै कारोबारमा १० रुपैयाँ शुल्क लाग्ने भएको छ। यसअघि २० रुपैयाँ शुल्क लाग्दै आएको थियो।
राष्ट्र बैंकले अन्तर बैंक एटीएम शुल्कलाई पनि घटाएको छ। एउटा बैंकको एटीएम कार्ड अर्को बैंकको एटीएममा प्रयोग गरी पैसा झिक्दा स्वदेशमा प्रतिकारोबार १५ रुपैयाँसम्म शुल्क लाग्ने भएको छ। यसअघि एउटा बैंकले जारी गरेको एटीएम कार्ड अर्को बैंक तथा वित्तीय संस्थाको एटीएम प्रयोग गर्दा मासिक न्यूनतम दुईवटा कारोबारसम्म निःशुल्क हुने र दुईभन्दा बढी कारोबारको हकमा प्रतिकारोबार २० रुपैयाँसम्म शुल्क लिन सकिने व्यवस्था थियो। तर, अहिले मासिक दुई वटासम्म कारोबार निःशुल्क पाउने व्यवस्थालाई केन्द्रीय बैंकले हटाएको छ।
राष्ट्र बैंकले विद्युतीय कार्डबाट हुने कारोबारको सेटलमेन्टसम्बन्धी व्यवस्थालाई पनि परिवर्तन गरेको छ। बैंक तथा वित्तीय संस्थाले कार्डबाट नेपालमा नेपाली रुपैयाँमा गरिने कारोबारको फछ्र्यौट नेपालभित्रै गर्ने व्यवस्था मिलाउनुपर्ने भएको छ। साथै यस्तो प्रयोजनका लागि अन्तर्राष्ट्रिय स्विचहरूको लागि कुनै जमानत÷बन्ड जारी गर्नुपर्ने भएमा नेपाली रुपैयाँमै गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ। त्यस्तै, रेमिट्यान्स कम्पनीससंग सम्झौता गरी विदेशबाट आप्रवाह हुने रकम नेपालमा सञ्चालित विद्युतीय वालेटमा जम्मा हुने गरी रेमिट्यान्स गर्न सकिने भएको छ। यसरी रेमिट्यान्स प्राप्त गर्दा भने वालेटमा रकम जम्मा गर्न तोकिएको सीमाको हदबन्दी लाग्ने छैन। राष्ट्र बैंकले रियल टाइम ग्रस सेटलमेन्टको माध्यमबाट कारोबार गर्दा बिहानको समयमा प्रतिकारोबार १० रुपैयाँ, दिउँसोको समयमा २० रुपैयाँ र साँझको समयमा भने दुई सय रुपैयाँ शुल्क तोकेको छ।