कोहलपुरबाट अपहरित बालक १ महिनापछि अपहरणमुक्त

HTV Khabar ९ मंगशिर २०७९, शुक्रबार ०४:१३ मा प्रकाशित

काठमाडौं, बाँकेको कोहलपुर नगरपालिका स्थित चौराहबाट एक महिनाअघि अपहरणमा परेका बालक अपहरण मुक्त भएका छन्। १ महिनापछि उनलाई सकुसल अपहरण मुक्त गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी ऐन बहादुर मल्लले बताए। प्रहरीले आफूलाई पहिचान गरेको थाहा पाएपछि अपहरणकारीले बुधबार साँझ १३ वर्षीय बालकलाई नेपालगन्जमा ल्याएर छाडेका हुन्।                                                                                  रुकुम घर भएका युवाले १३ वर्षीय बालक कवित मगर (नाम परिवर्तन) कात्तिक १६ मा अपहरण गरेका थिए। कवित परिवारसँग बैजनाथ गाउँपालिका–१ मा बस्दै आएका थिए। बालकलाई फेसवुकबाट सम्पर्क गरेर अपहरणकारीले भारतको हरिद्वार हुँदै हिमाञ्चल प्रदेशको छत्रीमा लगेर राखेको अनुसन्धानबाट थाहा भएको डीएसपी मल्लले बताए। आरोपी पहिचान गरेपछि कोहलपुरबाट खटिएको प्रहरी रुकुम स्थित उनको घरमा पुगेको थियो। घरमा प्रहरी पुगेको थाहा पाएपछि उनले भारतबाट बालकलाई नेपालगन्ज ल्याएर छाडेका हुन्।

०६९ मा पनि  आरोपी बालकलाई अपहरण गरेर यौन दुरुपयोग गरेको आरोपमा पक्राउ परेका थिए। कोहलपुरबाट अपहरण गरेर बालकलाई भारतमा लगेर उनले यौन दुरुपयोग गरेको बालकले प्रहरीलाई बताएका छन्। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। ‘लुरी डन’ र नमुना भट्टराई नामको फेसबुक आइडीमार्फत आरोपीले १३ वर्षीय बालकलाई सम्पर्क गरेर अपहरण गरेको अनुसन्धानबाट थाहा भएको छ। आरोपी रुकुम पश्चिमको चौरजहारी नपा–१३ एकौली का स्थानीय हुन्। उनलाई पक्राउ गर्ने प्रयास भइरहेको डीएसपी मल्लले जानकारी दिए।