सर्लाही ४ का मतदाताले अव सांसद खोज्दै धाउनु पर्दैन : गगन थापा

HTV Khabar ८ फाल्गुन २०८२, शनिबार ०८:११ मा प्रकाशित

सर्लाही, नेपाली काङ्ग्रेसका सभापति एवं  सर्लाही- ४ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गगनकुमार थापाले सर्लाहीका मतदाताले अब सांसद खोज्दै धाउनु नपर्ने वाचा गरेका छन्।

सर्लाही निर्वाचन क्षेत्र ४ अन्तर्गत  भगवतीपुर र सिमरामा शुक्रवार घरदैलोका क्रममा मतदाताले उम्मेदवार निर्वाचनमा मत माग्न आउने र कहिल्यै फर्केर नआउने गुनासो गरेपछि थापाले त्यस्तो वाचा गरेका हुन्। 

आफ्नो निर्वाचन क्षेत्रमा मतदाताका लागि छुट्टै फाेन नम्बर सहितकाे सम्पर्क कार्यालय राखेर काम गर्ने थापाले प्रतिबद्धता जनाए। समग्र नेपालको नेतृत्व गर्न पहाड र काठमाडौ मात्र थाहा पाएर नहुने बताउँदै थापाले आफू काठमाडौंमा सुरक्षित हुँदाहुँदै  मधेस बुझ्न र मधेस जान्न सर्लाही आएको बताए। 

थापाले भने, `चुनाबको बेला घरघर देखिने अरुबेला नभेटिने सांसद देखि तपाइहरु थाक्नु भएको छ। अब तपाईं सांसद खोज्दै धाउनु पर्दैन, म आफै आउछुँ।

सर्लाही अव मेरो निर्वाचन क्षेत्र हो, यहाँ मेरो सांसदको कार्यालय रहन्छ, मेरो टिम रहन्छ। कुनैपनी अप्ठ्यारो वा समस्या पर्दा कुनै युवकले आफ्नो बा वा आफन्तलाई फोन गर्नुभन्दा पहिले गगन दाई भन्ने बनाउन म सर्लाही आएको हो।´ सभापति थापाले थपे। 

काङ्ग्रेस नेतृत्वमा सरकार बनेपछि कुनै पनि नागरिकले उपचार गर्न खल्तिबाट एक रुपैयाँ तिर्नु नपर्ने अवस्था कांग्रेसले बनाउने थापाकाे भनाइ थियाे।
किसानले मल नपाएको  समस्याका बारेमासमेत आफू जानकार रहेको बताउँदै थापाले उखु किसानका समस्या बारे आफुले प्रधानमन्त्रीलाई जानकारी गराएको र छलफल भइरहेको जानकारी गराए। 

काङ्ग्रेस सभापति थापाले आफ्नो क्षेत्र सर्लाही ४ लाई मधेशको एक नम्बर क्षेत्र बनाउने प्रतिबद्धता पनि दोहोर्याए। उनले हालै सर्लाही क्षेत्र नम्बर ४ मा इन्जिनियररिङ कलेज खोल्ने निर्णय गराएको र किड्नीको उपचार केन्द्र मधेसको सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा नै बनाउने निर्णय भइसकेको जानकारी दिए। 

`गगन थापाको क्षेत्रमा अब बाटो यस्तो रहँदैन, अस्पताल यस्तो रहँदैन, अहिले निर्वाचन आचारसंहिताका कारण धेरै कुरा भन्न मिल्दैन, अहिले यतिमात्र भन्छु यहाँ सर्लाही क्षेत्र नम्बर ४ मा एकजना साथीले इन्जिनियररिङ कलेज खोल्ने निर्णय गर्नु भएको छ, र किड्नीको उपचार केन्द्र मधेसको सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा नै बनाउने निर्णय भएको छ।´ थापाले थपे। 

उनले आफू अहिले मतदातासँग काम गर्ने मौका माग्न आएको बताउँदै अगाडी थपे, `मलाइ काम गर्ने मौका दिनुपर्छ, म काम गर्छु भनेर मत माग्न आएको हुँ, २१ गतेसम्म मेरो लागि हिडिदिनुस, २१ गतेपछि तपाइहरुको जिम्मा म लिन्छु।´ 

थापाले अगाडी थप्दै भने, `तपाईंहरु घरघर गएर भन्दिनुस, के को एमाले ? केको माओवादी ? केको रास्वपा ? घर घर गएर भन्दिनुस, यो पटक कोही उम्मेदवार छैन, यो ठाउँको विकास गर्न गगन थापा आएको छ भनेर भनिदिनुस, यो त्यो छोडेर काम गर्ने जिम्मा मलाइ दिनुस, भन्न म यहाँ आएको हुँ।´ 

गगन थापा घर दैलाेमा भाेट माग्न आउँदैछन् भन्ने सुनेपछि साे क्षेत्रमा  बालबालिकादेखि बृद्वबृद्वासम्म भेला भएका थिए। चुनावका वेला आएर ठुला ठुला आश्वाशन दिने र चुनाव जितेपछि नेताकाे नाकमुख नदेखिदा आफ्नो क्षेत्र विकासमा पछि परेकाे गुनासाे स्थानीयले थापासमक्ष राखेका थिए। 

काङ्ग्रेसका सभापति एवं भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका गगन थापानैआफ्नु क्षेत्रबाट उमेदवार बनेपछि यस क्षेत्रमाउत्साह थपिएकाे प्राध्यापक बैधनाथ यादवले बताए। थापाकाे उमेदवारीले सधै पछि पर्दै आएको यो क्षेत्रकाे विकासले गति लिने र जनताका समस्या समाधान हुने आशा जनतामा पलाएकाे यादवकाे भनाइ थियाे।