भोलिदेखि शुरु हुँदै ताप्लेजुङ गोल्डकप

HTV Khabar १३ भाद्र २०८०, बुधवार ०९:०१ मा प्रकाशित

भोलिदेखि ताप्लेजुङ गोल्डकप प्रतियोगिता सुरु हुँदैछ। लाखेजात्राका अवसरमा प्रतियोगिता आयोजना गरिएको हो। विसं २०२९ देखि लाखेजात्राको समयमा यो प्रतियोगिता आयोजना गरिँदै आएको छ।

फुटबल प्रतियोगिता विगत तीन वर्षदेखि कोभिड–१९ महामारीलगायतका कारण रोकिएको थियो। यस वर्षको प्रतियोगितामा घरेलु मानाभारा क्लबसहित आठ टोली सहभागी हुँदैछन्।

घरेलु टोलीले उद्घाटन खेलमा जुट विकास फुटबल क्लब इटहरीसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै, पाँचथरबाट फिदिम स्पोर्टस् क्लब, इलामबाट रेडहर्स क्लब, झापाबाट गोर्खा स्पोर्टस् क्लब र रेडस्टार क्लबले सहभागिता जनाउँदैछन्।

मोरङबाट पथरी फुटबल क्लब, सुनसरीबाट जुट विकास फुटबल क्लब र भारतको दार्जिलिङबाट युनाइटेड खर्साङ क्लबको सहभागिता रहने प्रतियोगिता आयोजक समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिए।

प्रतियोगिताको विजेताले तीन लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले एक लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ।

सदरमुकामस्थित भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने छ। प्रतियोगिता सञ्चालन गर्न खेलमैदान र प्यारापिट तयार गरिएको अध्यक्ष गुरुङले बताए।

लाखेजात्रासँगैको खेलकुदका माध्यमबाट जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने, बजारलाई चलायमान बनाउने, नयाँ प्रतिभाको खोजी गर्ने, अग्रजको सम्मान र इतिहासलाई बचाइराख्ने उद्देश्यका साथ प्रतियोगिता सञ्चालन गर्न लागिएको उनको भनाइ छ।