रिलायन्सद्वारा दुई वरिष्ठ साहित्यकार सम्मानित

HTV Khabar ३ पौष २०७९, आइतबार ०२:२३ मा प्रकाशित
कपन, काठमाडौँ, बूढानीलकण्ठ १० कपनस्थित रिलायन्स इन्टरनेसनल एकेडेमी तथा रिलायन्स साहित्य समाजद्वारा हरेक वर्ष लक्ष्मी जयन्तीको अवसर पारेर आयोजना गर्दै आएको उपत्यकाव्यापी वक्तृत्वकला प्रतियोगिता, कवि गोष्ठी तथा साहित्य स्रष्टा सम्मान कार्यक्रम यसवर्ष पनि सम्पन्न भएको छ।                                                          रिलायन्स स्कुलकै प्रेक्षालयमा आयोजित कार्यक्रममा यस वर्ष वरिष्ठ साहित्यकार कलानिधि दाहाललाई रिलायन्स साहित्य स्रष्टा सम्मान–२०७९ तथा कवि/गजलकार रुपक अलङ्कारलाई रिलायन्स युवा प्रतिभा पुरस्कार–२०७९ द्वारा सम्मान गरिएको छ। वरिष्ठ साहित्यकार तथा समालोचक प्रा. दिनेशराज पन्तको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा साहित्यकारद्वयलाई रू.२५,००५।– र रु. ११,००५।– राशिको रिलायन्स साहित्य स्रष्टा सम्मान पुरस्कार प्रदान गरिएको हो। 
                                              सम्मानित भएपछि संक्षिप्त कुराकानी गर्दै कलानिधि दाहालले आफूले सधैंभरि बाँच्ने सिर्जनामा मात्र जोड दिएको बताए। साहित्यिक यात्राको योगदानलाई सम्मानित गरेकोमा रिलायन्स इन्टरनेसनल एकेडेमी र रिलायन्स साहित्य समाजलाई विशेष धन्यवाद दिए।
                                                    त्यसै गरी सम्मानित व्यक्तित्व रुपक अलङ्कारले साहित्य र सिर्जनाको प्रवद्र्धन र उत्थानका लागि यस्तो कार्यक्रम आयोजना भएको र अग्रज साहित्यकार सम्मानित हुन पाएकोमा खुसी व्यक्त गर्दै आफूलाई सम्मानित गरेकोमा रिलायन्स इन्टरनेसनल एकेडेमी र रिलायन्स साहित्य समाजलाई विशेष धन्यवाद दिएका थिए।
                                           कार्यक्रमको सभापतित्वको भूमिकामा रहेका रिलायन्स एजुकेसन नेटवर्कका सञ्चालक समिति सदस्य एवम् चार्टड एकाउन्टेन्ट राजुकुमार शिवाकोटीले नेपाली साहित्यिक क्षेत्रमा शैक्षिक थलोबाट केही योगदान दिन सकिन्छ कि भनेर तेह्र वर्षअघि रिलायन्स साहित्य समाजको स्थापना गरेको स्मरण गर्दै नेपाली साहित्य लेखनमा नयाँ पुस्ताहरूलाई पनि प्रेरित गर्दै डोर्‍याउनु पर्ने बताए। जुन देशमा कला साहित्य, संगीतका क्षेत्रका सम्मानित व्यक्तित्वहरूको इज्जत र सम्मान हुन्छ त्यहाँ कला, संस्कार, संस्कृति जिउँदो रहने बताउँदै रिलायन्स साहित्य समाजले हरेक वर्ष स्रष्टाहरुलाई प्रोत्साहन र सम्मानित गर्दै आएको उल्लेख गरे। 
                                              रिलायन्स साहित्य समाजका अध्यक्ष दामोदर निरौलाले साहित्यिक सेवामा समर्पित रहेका व्यक्तित्वहरूलाई रिलायन्स साहित्य समाजले सम्मानित गर्दै र विभिन्न साहित्यिक क्रियाकलाप गर्दै आएको जानकारी दिए। समाजका अध्यक्ष निरौलाले आगामी दिनमा साहित्यिक समाजले अझ थप कार्यक्रम र साहित्यलाई समाज र शिक्षासँग जोड्ने समेत प्रष्ट पारे।
                                            समारोहमा प्रमुख अतिथि दिनेशराज पन्तले सम्मानित स्रष्टाको व्यक्तित्व, नेपाली साहित्यमा उहाँको योगदानबारे चर्चा गरेका थिए। सम्मानित व्यक्तित्वहरुले सम्मानपश्चात् कार्यक्रमा बोल्दै रिलायन्स इन्टरनेसनल एकेडेमी र रिलायन्स साहित्य समाजले प्रदान गरेको सम्मानले सिङ्गो नेपाली साहित्य नै सम्मानित भएको र यसले आफूलाई यो उमेरमा पनि अझ अघि बढ्न हौसला मिलेको भन्दै विद्यालयले दिएको सम्मानप्रति कृतज्ञता प्रकट गरेका थिए।

उपत्यकाका १३ विद्यालयहरूको सहभागितामा पहिलो चरणको वक्तृत्वकला प्रतियोगितामा उत्कृष्ट पाँच वक्ताहरूलाई पुरस्कृत गरियो भने कार्यक्रममा केही स्थानीय कविहरूले कविता वाचन समेत गरेका थिए।  प्रतियोगितामा रिपुमर्दिनी सैनिक विद्यालयका छात्र सुतृष्ण पौडेल प्रथम,  सरस्वती एकेडेमीकी छात्रा आयुषा सापकोटा द्वितीय, नेपाल वेदविद्याश्रमका छात्र विजय तिमल्सिना तृतीय, घटराज मेमोरियल विद्यालयकी छात्रा कीर्ति पोख्रेल र गोकर्णेश्वर लाइट एकेडेमीकी छात्रा सुजता चालिसे प्रोत्साहन पदक प्राप्त गर्न सफल भएका थिए। विजेता विद्यार्थीहरूलाई आकर्षक ट्रफी, मेडल,    प्रमाणपत्र र अन्य पुरस्कारद्वारा पुरस्कृत गरिएको थियो।