हेलो सरकार र एनसेलबिच सहकार्य, ११११ मा नि:शुल्क फोन गर्न पाईने

HTV Khabar १९ भाद्र २०८०, मङ्गलबार ०८:१० मा प्रकाशित

काठमाडौं। ‘हेलो सरकार’को टोलफ्री नम्बर ११११ को सेवालाई प्रभावकारी बनाउन सरकारले एनसेल आजियाटा लिमिटेडसँग सहकार्य गरेको छ। सहकार्यसँगै अब एनसेलका ग्राहकले ‘हेलो सरकार’को नम्बरमा निःशुल्क फोन गरी गुनासो राख्न सक्नेछन्।

आईतवार एक कार्यक्रमबिच विस्तारित सेवाको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभारम्भ गरेका छन्। शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ले सरकार र जनताबीचको सम्बन्ध थप सुदृढ बनाउन ‘हेलो सरकार’ तीन सिफ्टमा चौबीसै घण्टा सञ्चालनमा आउनु खुसीको कुरा भएको बताए।

नागरिकका गुनासा र सुझाव सुनवाइका लागि सरकारले विगत १२ वर्षदेखि हेलो सरकार सञ्चालन गर्दै आएको छ। हेलो सरकारसँग सहकार्य गर्न पाएकोमा एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले खुसी व्यक्त गरे।
‘जनगुनासा सुन्नका लागि हेलो सरकार उदाहरणीय संयन्त्र हो। सार्वजनिक सेवा प्रवाहलाई अझै प्रभावकारी बनाउनका सरकारसँग सहकार्य गर्न पाएकोमा हामी निकै हर्षित छौं,’ कायुमोभले भने।

प्रधानमन्त्री कार्यालयका अनुसार नागरिकले फोनबाहेक इमेल, फेसबुक, ट्विटर, हेलो सरकार पोर्टल, भाइबर, ह्वाट्सएपलगायतका डिजिटल माध्यमबाट पनि आफ्ना गुनासा र सुझाव टिपाउन सक्छन्।